इलाम : इलामको सन्दकपुर गाउँपालिका–४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने सुरु भएपछि चार घर परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
माबुमा रहेको पञ्चकन्या माई हाइड्रोपावरको सर्च ट्यांक र करिब ४०० मिटर पेनस्टक पाइपलाइनमा क्षति पुगेको छ । तीन महिनाअगाडिदेखि गाउँ नै पहिरो जानेगरी जमिन भासिनेक्रम सुरु भएपछि इलामको माबुमा जोखिम बढेको छ । माबु माइमझुवा जोड्ने पर्यटकीय सडक र इलाम सन्दकपुर जोड्ने सडक पहिरोले भासिन थालेपछि अवरुद्ध भएको छ । अनुमाया गुरुङ, कोलबहादुर गुरुङ, भीमदल गुरुङ र प्रविण गुरुङको चारओटा घर पहिरोमा भासिन थालेका छन् ।
माबुमा रहेको पञ्चकन्या माई हाइड्रोपावरको सर्च ट्यांक र सुरुङमार्गको आउटलेटदेखि करिब ४०० मिटरको भाग पहिरोको उच्च जोखिममा परेको छ । १४ घर(परिवारको २०५ रोपनी जमिन पहिरोमा परेको छ ।
जमिन चिरा चिरा परेर भासिएकाले पहिरो जानेक्रम सुरु भएपछि जोखिम निम्तिएको भन्दै स्थानीयले पञ्चकन्या मार्ई हाइड्रोपावरको पानी बन्द गरेका छन् । विद्युत् विपद् संघर्ष समिति बनाएर जलविद्युत् कम्पनीलाई जोखिम कम गर्न आग्रह गरिएको समितिका संयोजकको भनाइ छ ।
जलविद्युत्को सुरुङ निर्माणपछि पानी चुहिएर जमिन भासिएको स्थानीयको भनाइ छ । जलविद्युत् कम्पनीले भूगर्भविद्को टोलीसहित जोखिम क्षेत्रको अध्ययन गरेपनि यसको प्रतिवेदन सार्वजनिक भएको छैन । जमिन भासिने र पहिरो नरोकिएमा माइखोला थुनिनसक्ने जोखिम बढेको छ ।
Discussion about this post