श्रद्धालु भक्तप्रेमी र भक्तजनहरु
महागुरु फाल्गुनन्दको जन्म भएको आज १३० वर्ष लाग्दैछ। वहाँको जन्मजयन्तीको अवसरमा यस कार्यक्रममा हामी सहभागी भएका छौं। कार्यक्रममा पालिदिनुभएका संविधानसभाका उपाध्यक्ष, सभासद् तथा मित्रहरुमा हाम्रोतर्फबाट धेरै धेरै धन्यवाद। समयले पनि हामीलाई छाडिसकेको छ। चिसो ठाउँ भएको हुनाले धेरै लामो बोल्दिन।
हाम्रो किरात धर्मको महागुरु फाल्गुनन्दको जन्मजयन्तीलाई चाड मान्ने भनेर हामी यहाँ देश विदेशबाट जम्मा भएका छौं। यो इलाम जिल्लाको छिमेकी जिल्ला हो। यस पटक जन्मजयन्ती यसै ठाउँमा गरौं भनेर हामी सबैले सल्लाह गरेबमोजिम यस ठाउँमा जम्मा भएका छौं। यस ठाउँमा महागुरुको जन्मजयन्ती मनाउने अवसर पाउँदा मलाई खुशी लागेको छ। रमाइलो लागेको छ। यो ठाउँ भनेको हिमाल कुम्भकर्णदेखि श्रृङ्खलावद्ध डाँडाखोला हुँदै सबै नदीनालाहरु बगेर आउने एउटा थलो हो। यी डाँडाखोला रमाइला छन्। यो ठाउँ देवीदेवताले बास गरेको ठाउँ हो। त्यसैले हामी यहाँ जम्मा भएका छौं। हामी शिद्धिशक्ति माग्नका निमित्त पनि जम्मा भएका छौं। ज्ञान पाउनका निमित्त पनि जम्मा भएका छौं।
धर्मले हिंसा नगर भन्छ। तर, राजनीतिले हिंसा गर भन्छ। हिंसा गरेपछि मात्र आफ्नो हुन्छ भन्छ। त्यसैले धर्म र राजनीतिमा अलिकति फरक छ। धर्मले शान्तिको कुरा मात्र खोजी गर्छ। ज्ञान, चेतना र विवेकको मात्र खोजी गर्छ। त्यसैले आज हामी महागुरुले भन्नुभएका महत्त्वपूर्ण ज्ञान, विवेक, विचारहरु लिन जम्मा भएका छौं। महागुरुको जन्मस्थल यहाँबाट नजिकै छ। इलाम जिल्लामा पर्छ। छिमेकी जिल्ला हो। चुक्चिनाम्बा गैरीगाउँ हो। हामी पनि त्यहीं जन्मी हुर्केका हौं। अहिले महागुरुलाई राष्ट्रले चिन्यो। वहाँलाई राज्यले राष्ट्रिय विभूति बनाएको छ। तर, किरात धर्मावलम्बीहरुको माग चाहिँ राज्यले महागुरुको जन्म दिनलाई राष्ट्रिय बिदाका रुपमा पनि मान्यता देओस् भन्ने हो।
महागुरुले अमूल्य ज्ञान छाड्नुभएको छ। वहाँले हामीलाई भूत, वर्तमान र भविष्यका सबै कुरा दिनुभएको छ। यसलाई हामीले मनन् गर्नुपर्छ। चेतनशील बन्नुपर्छ। ज्ञानी हुनुपर्छ। चेतना भएपछि हरेक कुरा हुन्छ। चेतनाको विन्दुमा पुगेपछि धार्मिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषाभाषी सारा कुराको विज्ञ भइन्छ। यो कुरा आज कार्यक्रमका वक्ताहरुले भन्नुभयो। धेरै खुशी लागेको छ। चेतना खुलेछ भन्ने लाग्यो। यो जनजाति शब्द निकाल्ने त पहिला मै पो है। जनजाति शब्द मेचीदेखि महाकालीसम्म पुग्दा जनजातिहरुको, पिछडिएकाहरुको चेतना ब्युँझेछ भन्ने मैले महसुस गरें। अहिले सबैले जनजातिको कुरा गर्छौं। हो यो देशमा अलिकता त्यस्तै छ, कहिले तल जान्छ, कहिले माथि निस्किन्छ।
नेपाली समाज भनेको धेरै वटा धर्म मिलेर बनेको छ। यहाँ पाँच वटा धर्म छन्, बौद्ध, क्रिश्चियन, मुस्लिम, हिन्दू र किरात। यी सबै धर्मले सम्मान पाउनु पर्छ। हाम्रो माग यही हो। यी धर्महरु आ–आफ्नो अस्तित्वमा छन्। धर्मले राम्रो काम सिकाएको छ। त्यसैले सबैलाई सम्मान गर्नु पर्दछ। तर, एउटै मात्र धर्मले सम्मान पायो भने अर्कोले अंश माग्छ। जस्तै, जेठा छोरालाई राम्रो लुगा दियो भने कान्छा छोराले पनि माग्छ। त्यसैले हाम्रो त्यो माग हो। यो शान्तिपुर्ण माग हो है। सबै धर्म बाँच्नु पर्छ। सच्चा फूलबारी बन्नु पर्छ। उहिले पञ्चायत कालमा पो नेपाल चार जात छत्तीस वर्णको फूलबारी भन्थ्यो। अब पो फूलबारी बन्नु पर्छ। अनि मात्र सुहाउँछ। सबै फूल फुल्दा रमाइलो हुन्छ। यो सम्पत्ति भनेको देशको सम्पत्ति हो। त्यसैले हामी धर्ममा एकतावद्ध हुनु पर्छ। शान्तिको बाटोमा लाग्नु पर्छ। हिंसा गर्नु हुँदैन। दया गर्नु पर्छ। माया गर्नु पर्छ। प्रेम सद्भाव राख्नु पर्छ। हाम्रो यही निर्देशन छ। सद्भाव, प्रेम, स्नेह राखियो भने हामी महाकालीदेखि मेचीसम्म र मेचीदेखि महाकालीसम्म सबै चिनापर्ची हुन्छौं। हामी एकै हौं। एकै किसिमको हावापानी खान्छौं। हामीले एकै किसिमले बाँच्नु पर्छ भन्ने कुरा हामीमा ज्ञान हुन्छ। त्यो नै सबैभन्दा उत्तम कुरा हो। यसबारे बोल्नुपर्ने धेरै कुरा छन्। तर, समय अभावले गर्दा मेरो प्रवचन छोट्याउँदैछु।
संविधानसभाका उपाध्यक्ष रोल्पा जिल्लाको हाम्रा नेतृ आज यहाँ पाउँदा खुशी लाग्यो। भारतमा इन्दिरा गान्धीले प्रधानमन्त्री भएर शासन चलाएको सम्झना आयो। नेपालमा पनि नेतृहरुको नेतृत्वमा एक पटक सरकार चल्नुपर्छ भन्ने मेरो चाहना छ। महागुरुले भन्नुभएको छ, छोरी मान्छेलाई हलो जोत्न सिकाउनु, घर छाउनु सिकाउनु, लेखपढ गर्न सिकाउनु, भाषण गर्न पनि सिकाउनु, त्यसो गर्दा भोलि ठूलो हुन्छ। छोरीलाई स्वातन्त्रता दिनु पर्छ। महागुरुको उक्त ज्ञान पाएको हुनाले मलाई त्यस्तो लाग्यो। म महिला नेतृहरुलाई आशीर्वाद दिन्छु, तपाईहरु देश चलाउनु होस्। संसारको एउटा चक्रवर्तीजस्तै तपाईहरुले चलाउनु होस्। तपाई आमाहरुले राम्रो चलाउनुभयो भने छोराहरु त त्यसै न्यानो काखमा हुर्किहाल्छौं। हामी यही आशा गर्छौं।
संविधान लेख्ने कुरामा विवेक पुर्याएर लेख्नु। म यही भन्छु। मैले सबै नेताहरुलाई यही कुरा सुनाएको छु। संविधान बनाऔं, सबैलाई अटाऔं। कोही काखा कोही पाखा बन्नु भएन है भनेको छु। संविधान लेख्दा सबै जाति, धर्मलाई मिलाएर लेखियो भने राम्रो हुन्छ। तर, एकै जनाले मात्र मनतन्त्री गर्ने अरुले नपाउने किसिमले लेख्यो भने त्यहाँ त आगो उठ्छ।
हिजो मैले टिभी हेरें। हाम्रा गृहमन्त्रीज्यूले माफी माग्नुभयो। मलाई गुनासो गर्न मन लाग्यो। मलाई चिन्ता पनि लाग्यो। धर्म निरपेक्ष मुलुकको गृहमन्त्री भएर कसरी माफी माग्नुभयो? (नेपाललाई हिन्दू अधिराज्य बनाइनु पर्छ भनेर हिन्दू धर्मका अतिवादीहरुले हालै काठमाण्डौमा चलाएको आन्दोलन विध्वंसात्मक हुँदै गएको ठानी सरकारले बलपूर्वक नियन्त्रण गरेको थियो। सरकारको यो कार्यले हिन्दू धर्मको आस्थामा चोट पुगेको भनेर आन्दोलनकारीहरुले आपत्ती जनाएपछि गृहमन्त्री बामदेव गौतमले सार्वजनिक रुपमा माफी गाग्नु भएको थियो। – सम्पादक) राजा हटाउनु पर्छ भनेर राजा हटाइयो। पञ्चायत हटाउनु पर्छ भनेर पञ्चायत हटाइयो। यी जनताले हटाएका त हुन्। फेरि अहिले हिन्दू धर्म हुनुपर्छ, हिन्दू अधिराज्य लेखिनुपर्छ भन्यो भने त्यो एकतन्त्र हुन्छ। त्यो त निरङ्कुश हुन्छ। हिन्दू धर्म पनि उसको ठाउँमा छ। उसको मान्यता आफ्नै ठाउँमा छ। धर्मभित्र राजनीति घुसाउनु हुँदैन भन्ने मेरो मान्यता हो। हिन्दू धर्म पनि मान्न पाइन्छ। तर, हिन्दू धर्मको नाम गरेर मुस्लिम र हिन्दू लडेको जस्तो राजनीति घुसाएर जनता बिनास गर्नु हुँदैन। किनभने धर्म निरपेक्ष भएपछि सबै धर्मलाई अटाउनु पर्यो। मुस्लिम अटाउनु पर्यो। बौद्ध अटाउनु पर्यो। किरात अटाउनु पर्यो। ती सबैले अंशबण्डा त पाउनु पर्यो नि। म यो भन्न चाहन्छु।
हाम्रा उपाध्यक्षले अघि भन्नुभएको छ, मठ मन्दिरहरुमा पनि अलि काखा पाखा भएको छ। हामीलाई आँसु पुछाउन ५/६ लाख रुपैयाँ दिन्छन्। सकि हाल्छ। अब अरु शक्तिशाली धर्ममा करोडौं, अर्बौं रुपैयाँ छुट्याउँछन्। त्यो भइराखेकै छ। हाम्रो धर्म पनि अस्तित्वमा छ। यसलाई पनि मान्यता दिनु पर्छ। सबै धर्मको अस्तित्वलाई राज्यले मान्यता दिनु पर्छ। राज्यले पाल्नु पर्छ। संविधानमा त्यो कुरा लेखिनु पर्छ। किरात धर्मावलम्बी सबैको माग यही छ। त्यसैले यस कुरामा हामीले ध्यान दिनुपर्छ। सामाजिक सञ्जालमा त जे पायो त्यही पो लेखिन थालेको छ। किरात धर्मावलम्बीहरुलाई रेटिन्छ पो भन्न थालिएको छ। यस्तो किसिमको शब्दहरु चाहिँ उच्चारण नहोस्। शान्ति भयो मात्र विकास हुन सक्छ। अशान्ति भयो भने त विकास हुन सक्दैन। माङको कृपा, ईश्वरको कृपा, देवीदेवताको कृपाले अहिले शान्ति भइराखेको छ। शान्तिको उपभोग गरिराखेका छौं। सानोतिनो विकास भइराखेको छ। यो हामीले मान्नु पर्छ। अरु देशमा हेर्नुहोस्, दिनहुँ मान्छे मर्छन्। आत्माघाती बम पड्किन्छ। मान्छेको बर्बाद भइराखको छ। संसार त्यस्तो छ। संसारले अन्तिम रुप फेर्दैछ। हामी यसबाट बच्नुपर्छ। नेपाल पनि बच्नुपर्छ। संसारका मानिस बच्नु पर्छ भन्ने हामीले चिन्तन गरेका छौं।
अहिले जलवायु मिल्दैन। दैवी प्रकोपहरु हुन्छ। बढी पानी पर्छ, पहिरो जान्छ। पूर्वी नेपालमा मात्र शान्ति भयो। पश्चिममा मान्छेहरु धेरै नै बगेर मरे। भूकम्प आयो। पहिरो गयो। यस्ता बिडम्बना भइराखेका छन्। त्यसैले हामीले ईश्वरको सेवा चाहिँ गर्नै पर्छ। यो सृष्टि गर्ने त ईश्वर हो। यो भौतिक वस्तुको निर्माण गर्ने त हाम्रो भाषामा तागेरा निङवाभूमाङ भन्छ, ईश्वर हो।
अर्को कुरा पनि आइराखेको छ। यो मंसिर दोस्रो सातातिर पृथ्वीमा ६ दिन अँध्यारो हुन्छ भनेर नासाले पूर्वानुमान गरेको छ। यो सूर्यलाई छोपेर ढुङ्गा आउँदैछ। यस्तो पहिले पनि भएको हो। त्यो ढुङ्गा सूर्यभन्दा ७ गुणा ठूलो छ। त्यसैले सूर्यलाई छेल्दैछ। अहिले सबै देश मिलेर एउटा यान बनाएर यसलाई पड्काउन माथि पठाउँदैछन्। त्यो पड्कायो भने सफल भयो। उज्यालो भयो। त्यसले भेटेन भने ६ दिन चाहिँ अँध्यारो हुन्छ। हामीलाई चिन्ता लागिरहेको छ। किनभने नासाको सदस्य त हामी पनि छौं। यदि त्यसो भयो चाहिँ पृथ्वीका मान्छेको दिमाग परिवर्तन हुन्छ कि भन्ने शंका लागेको छ। पोहोर पनि झर्दैथ्यो नि ढुङ्गा। तर, अमेरिकाले एउटा रकेट मिसायल पठाएर त्यसलाई माथि नै पड्काइदियो। तर, यस पटककाले चाहिँ अलिकति पृथ्वीलाई धक्का दिन्छ कि भन्ने शंका गरेका छौं। माथि पड्काउँदा पनि पृथ्वी जत्रो चोइटा चोइटिने छ। त्यो सबै बोकिरहने सामान अहिले पठाइरहेको छ। यस्तो स्थितिहरु आउँदैछ। तर, हामी चाहिँ तँ ठूलो म ठूलो भनेर बाझिराखेका छौं। त्यो एक चोइटा मात्र पृथ्वीमा पर्यो भने पृथ्वी पड्कि जान्छ। त्यसैले हामी धर्मावलम्बी, ईश्वरप्रति आस्था राख्ने, माङप्रति आस्था राख्ने जे जति छौं। चाहे हामी हिन्दू, क्रिश्चियनका हौं न किरात, मुस्लिम धर्मका हौं ईश्वरको प्रार्थना गर्नुपर्ने दिन आएको छ। यो कुरा घोषणा गर्न चाहन्छु।
म धेरै लामो बोल्दिन। वहाँहरु आइदिनुभएकोमा मेरो तर्फबाट धेरै धेरै धन्यवाद। हाम्रो आङदेम्बेजी (भिष्मराज आङदेम्बे) भोट माग्न आश्रम आउनुभएको थियो। त्यतिबेला मेरो खुट्टा ढोगेर रुनुभयो। अनि मलाई माया लाग्यो। मेरो हृदय पलायो। मलाई पनि रुनु पो मन लाग्यो। त्यसैले गरिखाऊ भनेर जिताएका छौं। वहाँलाई त्यतिबेला माङहिमहरु हेर्नु है भनेको छु। कतिको हेर्दै हुनुहुन्छ कोनी। त्यो चाहिँ जान्दिन है। तपाईहरुकै ठाउँमा हुनुहुन्छ। यहाँका जनता हेर्नु, यो थोक्पेत्चम्मा हेर्नु, त्यहाँ हेर्नु वहाँ हेर्नु भनेको छु। तर, त्यो चार, पाँच लाख रुपैयाँ दिएर मेटाइहाल्ने पो हो किज्ञ् वा अरु पनि धेरै दिने होज्ञ्
यस माङहिमलाई पनि हेर्नु पर्यो। यहाँ खानेपानीको आवश्कता छ। यहाँ माङहिम बनाउनु पर्ने, महागुरुको शालिक राख्नु पर्ने। महागुरुको शालिकको लागि मोडल फोटो भन्छ, महागुरु दुरुस्त आयो आएन अध्ययन गरिराखेका छौं। मूर्ती मात्रै बनाएर हुँदैन। मूर्तीमा महागुरुको विचारलाई पनि बाहिर निकाल्नु पर्छ। त्यस्तो बनाउनु पर्छ। यस माङहिम परिसरमा शालिक राख्ने, ठूलो फुलबारी बनाउने सोंच छ। यहाँ पर्यटकहरु आउँदा सबैको आत्मा शान्ति होस्। चौतारामा एक छिन बस्दा आराम हुन्छ नि, त्यस्तो होस्। सबैले आराम गर्ने ठाउँ बनोस्। माङको स्तुति गर्ने ठाउँ, भक्ति गर्ने ठाउँ बनोस् भनेर मैले सम्झेको छु। यसमा लागिराखेको पनि छु। त्यसैले महागुरुको जन्मजयन्ती यसै ठाउँमा मनाऔं है भनेर किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्षलाई मैले भनेर वहाँहरुले यस कार्यक्रम गर्नुभयो। हामी यस कार्यक्रममा भेला भयौं। मलाई धेरै खुशी लाग्यो। अझै हामीले यस ठाउँलाई बनाउँदै लैजाऔं। प्रगति गर्दै लैजाऔं। यो देशकै सम्पत्ति हो। यो गोजीमा बोकेर लाने त होइन। यो धर्मगुरु आत्मानन्दले नै गोजीमा लगेर जाने होइन। यो यहींकै जनताका लागि हो। यहीका जनताले उपभोग गरोस् भन्ने हो। हामीले नेताजीहरुलाई यहाँ यस्तो बाटो चाहिएको छ। उस्तो चाहिएको छ भनेका छौं। खन्ने त भनेका छन्। त्यो हेर्न बाँकी नै छ।
आङदेम्बेजी रोएकाले हामीले जिताएका छौं, यस क्षेत्रबाट। अब यो ठाउँ बनाउनु पर्यो तपाईहरुले। यहाँ एउटा आश्रम चाहिन्छ। यहाँ भोलि लाखौं मान्छे आउँछन्। उनीहरु आउँदा बस्ने ठाउँ चाहियो। प्रवचन दिने ठाउँ चाहियो। पछि राजनेता आउँछन्, राष्ट्रपति आउला, प्रधानमन्त्री आउला, विभिन्न नेताहरु आउँछन्, उपस्थित हुन्छन्। वहाँहरुलाई बस्ने ठाउँहरु चाहियो। त्यसैले आङदेम्बेजीले पनि सोचिदिनु पर्यो। वहाँको दिमागमा पनि यो कुरा पस्नु पर्यो।
यो सुन्दर पृथ्वीलाई दशा लागेको छ। पृथ्वीमा परिवर्तन छ। पृथ्वी पनि उसको बाटो छाडेर कोल्टेकोल्टे लाग्दैछ। त्यस कारण मान्छेहरुको दिमाग पनि कोल्टे हुन्छ कि भनेर डर लाग्छ। त्यसैले माङको हामीले सेवा राम्रो गर्नु पर्छ। पृथ्वी रह्यो भने हामी रहन्छौं। अमनचैन गर्छौं। नेता बन्छौं, राष्ट्रपति बन्छौं। अरु यस्तो उच्च ओहोदाका मान्छे बनौंला। तर, पृथ्वी नै रहेन भने त सक्यो नि, होइन? त्यसैले सधैं ईश्वरको सेवा गरौं। हाम्रा नेताजीहरुले पनि ओछ्यानमा बस्दा माङलाई सम्झिनु है। माङ छ है। संसारमा ठूलठूला बिगार हुन्छ। भूकम्प आउँछ। पहिरो जान्छ। ठूलठूलो आँधी आउँछ। सुनामी आउँछ। अस्ति पश्चिमको हिमाल चढ्नेहरु हिउँले पुरेर मरे। यस्ता बिडम्बना आउँछन्। बिगार हुन्छ।
तपाईहरुले राम्रोसँग संविधान बनाउनु होस्। हामी सबै राम्रोसँग बाँच्न पाऔं। सबै नेता हुन पाऔं। राष्ट्रपति हुन पाऔं। सधैं अमनचैनमा बाँच्न पाऔं। हामीले ईश्वरसँग यही प्रार्थना गर्नु पर्छ। यति भन्दै यहाँ आउनुभएका सबै अतिथिहरुमा महागुरुको १३०औं जन्मजयन्तीको अवसरमा तपाईहरुको सुख, शान्ति, आनन्दको कामना गर्दै शुभकामना दिन चाहन्छु। तपाईहरुको बुद्धि, ज्ञान, विवेक असल बाटोमा हिँडोस्। यही शुभकामना दिँदै मेरो कुरा यही नै स्थगित गर्न चाहन्छु। यससँगै यहाँबाट तपाईहरुसँग बिदा पनि माग्न चाहन्छु।
आसेवारो। आसेवारो।
Discussion about this post