एजेन्सी : चिनियाँ जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखा पार गरी भारत पसेका आफ्ना सैनिकलाई खोजिदिन भारतीय सुरक्षाकर्मीहरूसँग आग्रह गरेको छ।
चीनको आग्रहबमोजिम भारतीय सुरक्षाकर्मीहरूले पूर्वी लद्दाखस्थित डेमचोक सेक्टरमा आफ्नो सीमाभित्र घुसेका एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएका छन्। यो खबर चीनको सरकारी मुखपत्र मानिने ग्लोबल टाइम्सले नै लेखेको छ।
नियन्त्रणमा लिइएका चिनियाँ सैनिकलाई सैन्य हिरासतमा राखिएको बताइएको छ। ती सैनिकले चीर र भारतबीचको वास्तविक नियन्त्रण रेखा पार गरेका थिए।
चीनको जनमुक्ति सेनाले औपचारिक रूपमै नियन्त्रणमा लिइएका सैनिकको जानकारी भारतसँग मागेको छ। सैनिक प्रोटोकल पालना गर्दै भारतले आफ्ना जवान फिर्ता गरिदिने आशा चिनियाँ सेनाले व्यक्त गरेको छ।
ती चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना र न्यानो कपडा उपलब्ध गराइएको भारतीय सेनाले जनाएको छ। सो स्थान निकै उचाइमा रहेकाले चिनियाँ सैनिकको जीवनरक्षाका लागि भारतीय सेनाले आवश्यक प्रबन्ध गरिदिएको हो।
आइतबार ती सैनिक गल्तीवश भारतीय भूमिमा पसेको चीनले दावी गरेको छ। चिनियाँ सेनाले नै ती सैनिकलाई खोजिदिन र आफ्नो भूमिमा पठाइदिन भारतीय सुरक्षाकर्मीहरूसँग आग्रह गरेको बताइएको छ।
Discussion about this post