एजेन्सी : संक्रमितहरुको संख्या बढ्दै गएपछि बेलायत सरकारले लकडाउनसम्बन्धी नयाँ प्रतिबन्ध घोषणा गरेको छ । ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च (टियर वान, टु एण्ड थ्री) गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरेका हुन् ।साँझ ७ बजे उनले टेलिभिजन सम्बोधनमा पनि नयाँ प्रतिबन्धबारे जानकारी गराएका थिए । यसअघि जस्तो राष्ट्रव्यापी रुपमा लकडाउन भने नहुने उनले प्रष्टयाएका छन् । फेरि राष्ट्रव्यापी लकडाउन गर्नुपरे देशको अर्थतन्त्र बर्बाद हुने आकलन गरिएको छ ।
मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ अर्थात् बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइन्छ भने पब, बार तथा रेस्टुरेन्टहरु राति १० बजेभित्र बन्द गरिसक्नु पर्नेछ ।यसैगरी उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै आफ्नो परिवार बाहेकका मानिससँग भेटघाट गर्न प्रतिबन्ध लगाइनेछ ।
अति उच्च जोखिम भएका स्थानमा भने पब, बार, रेस्टुरेन्टलगायत हस्पिटालिटी क्षेत्रहरु बन्द गरिनेछन् । तर पसल, स्कुल तथा विश्वविद्यालय भने खुल्ला रहनेछन् । इंग्ल्याण्डका धेरैजसो स्थानहरु ‘मध्यम’ जोखिममा रहेको बताइएको छ भने लिभरपुललाई बुधबारदेखि अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरिने भएको छ ।
संक्रमण बढिरहेको उक्त लिभरपुल सिटी क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ ।पछिल्लो सातासम्मको तथ्यांकअनुसार त्यस क्षेत्रमा हरेक १ लाख मानिसमा ६ सयमा संक्रमण भएको छ । तर इंग्ल्यान्डभर संक्रमणको औसत दर एक लाखमा ७४ जना रहेको बताइन्छ ।हरेक १ लाख जनसंख्यामा १ सय भन्दा कम संक्रमित रहेको क्षेत्रलाई मध्यम, १ सय बढी संक्रमित रहेको क्षेत्रलाई उच्च र संक्रमण निकै उच्च रहेको क्षेत्रलाई अति उच्च अलर्ट लेभलमा राखिनेछ ।
सरकारले स्थानीय निकायलाई करिब एक बिलियन पाउण्ड नयाँ आर्थिक सहायता दिने जनाउँदै काउन्सिलसँग सहकार्य गरी प्रतिबन्ध कार्यान्वयन गर्ने जनाएको छ ।लकडाउनका नियममा हरेक महिना पुनर्विचार गरिनेछ । प्रधानमन्त्री जोन्सनले प्रभावकारी ढंगले कार्यान्वयन गरे भाइरस रोकथामका लागि नयां नियम पर्याप्त भएको जिकिर गरेका छन् ।
बेलायत कोभिड १९ केसका हिसाबले गत साता विश्वमा चौंथो नम्बरमा थियो । विश्व स्वास्थ्य संगठनका डा. मार्गरेट हयारिसका अनुसार संक्रमण दरमा बेलायत भारत, अमेरिका र ब्राजिलपछि रहेको हो । गत सातामात्र बेलायतमा एक लाख १० हजार ८ सय २७ नयाँ केस थपिएको थियो ।
Discussion about this post