कात्तिक २६ गते घरबाट स–परिवार निस्केको मंसिर ५ गते राति बल्ल आइपुगियो। यसबीचमा काठमाण्डौबाट सिन्धुलीको बाटोहुँदै झापाको दमकसम्म पान्थर रवी निवासी रिजन राईको सुमोमा आरामदायी एक्लो यात्रा भयो। फेरि सुमोमा नै दमकबाट बिर्तामोड, इलाम सदरमुकाम इलामबजार र रक्सेमा मिठो खाना खाँदै पान्थरको सदरमुकाम फेदेनको गर्मी छिचोल्दै ताप्लेजुङको सदरमुकाम फूङलिङसम्मको यात्रा। ठग प्रवृत्तिको चालकसँग दिनभरको कष्टपूर्ण यात्रा भएपनि फेदेनबाट पाथीभरा नै जाने यस्तै गाडीवालाबाट ठगिएका एक ग्रुप साथीहरु भेटियो। दमक निवासी राजकुमारसहितको ती साथीहरुसँग हाम्रो सामिप्यता बढ्यो र यात्रालाई निरन्तरता दिंदै पिकअपमा ३:४५ मा सुकेटारहुँदै प्रति व्यक्ति ३०० रुपैयाँमा साँझ ५:२० तिर सानोफेदी (काफ्लेपाटी) पुगियो। त्यहाँको न्यू पाथीभरा पोख्रेल होटल एण्ड लजमा सुटकेश राखेर भाडामा रु.२५/– तिरेर ट्ेरकिङ स्टिक बोकेर ताप्लेजुङको चर्चित किरात मुक्कुमलुङ युमा माङहिम अर्थात पाथीभरा देवीको दर्शन गर्न ५:५० मा टर्च बालेर भएपनि ७:३० सम्म ठूलो फेदीसम्मको पैदल यात्रा गर्यौं। र, सिता कार्कीको न्यू झापाली होटल एण्ड लजमा बास बसियो। २ सय ५० रुपैयाँमा रायोको साग र स्थानीय आलु र अकबरे खोर्सानी सहितको ज्यादै मिठो खाना खाएर हजार रुपैयाँको एउटै कोठामा ठूलो समूह आराम गरियो।
बिहान तातो पानीले नुहाइ धुहाई गरेर ६ बज्न लाग्दा करिब ३ किलोमिटर उकालो सिँढी नै सिँढीको यात्रा थालियो र अन्तत: साढे ८ बजे किरात मुक्कुमलुङ युमा माङहिममा पुगियो। अघिल्लो रात डेढ किलोमिटरको उकालो छोरा हिँडेपनि बिहान एकछिन हिँडेर हिँड्न मानेन। त्यसैले ३ किलोमिटरको त्यो बाटो छिचोल्न बेलकुमार भट्टराईले बोक्न सहयोग गरे। छोरीलाई पनि केही गाह्रो भएकोले करिब डेढ किलोमिटर जति उसलाई पनि बोकाएँ। माङहिममा सहायक माङसेवासाबा चन्द्र थलङले पूजाआजा गर्न सहयोग गरे। हल्का हिउँ झराईको रमणीय मनोरम दृश्य एवं किरात धर्मावलम्बीहरुको मुक्तिभूमि फक्ताङलुङ (कुम्भकर्ण)को आत्मीय क्षणिक दर्शनसँगै किरात माङहिम र हिन्दू मन्दिरमा दर्शन पछि फेरि प्रफुल्लित मन लिएर १० बजेतिर ओरालो झरियो। पुन: ठूलो फेदिहुँदै सानो फेदिसम्म पैदल यात्रा र त्यहाँबाट सदरमुकाम फूङलिङस्थित न्युरोडको होटल ग्यालेक्सी रेस्टुरेन्ट एण्ड लजमा बसाई भयो। बिहान ५ बजेतिर नै हाम्रो समूहका राजकुमारसहितको टोली झापा झर्यो। तर हामी केही बेर बस्ने सोचमा थियौं। तब केही बेरपछि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङवा, संघका ताप्लेजुङ पूर्व अध्यक्ष भीम मादेन, फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङलगायत केही स्थानीय प्रतिष्ठित व्यक्तिहरुसँग भेटघाट र स्थानीय मिठो कफीको चुस्कीपछि अपरान्ह सुमोमा पान्थरको हिलिहाङ गाउँपालिकाको गोपेटारतर्फ प्रस्थान गरियो। हिलिहाङ गापा अध्यक्ष भुवानीप्रसाद लिङ्देन बाजे र काठमाण्डौमा विगत लामो समयदेखि सन्निकटमा रहनुभएका वहाँकै छोरा सागर लिङ्देनको आतिथ्यता स्वीकार्दै अर्कोदिन बिहानै देखि घुमफिर सुरु भयो। आगेजुङ डाँडामा रहेको गुम्बाबाट एकोहोरो आइरहेको बौद्ध मन्त्रहरुले आफूलाई कुनै बुद्धिष्टहरुको गाउँमा भएको अर्थात हेलम्बुमा केही वर्ष अघि बसेको याद ताजा गरायो। बिहान शानदार स्कोरपियोमा किरात धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरु किरात आगेजुङ माङहिम, जोरपोखरी, त्यहाँको रंगीन माछाहरु र त्यसैको डाँडामा निर्मित प्राकृतिक छटाले भरिपूर्ण किरात माङहिम, लिम्बुवानका अन्तिम राजा हिलिहाङ दरबार, गाउँपालिका कार्यालयका साथै कालापानीको घुमघाम भयो। मिठो खाना अनि न्यानो बास दिने बाजे बोजुहरु सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु।
अर्कोदिन अपरान्ह अघिल्लो दिनकै सुमो भेटियो। त्यसको मालिक तथा चालक विनोद लिङ्देन रहेछन्। दोस्रो दिन मात्र रहस्य खोल्नुभयो। रमाइलो कुराकानी गर्दै जोरपोखरी, भारप्पाको ओह्रालो सल्लेरी हुँदै हेंवा खोला तरेर सदरमुकाम फेदनमा पुग्दा हाम्रो पर्खाइमा वर्षौंदेखि चिनजानमा रहेका भगिहाङ फेजङका कान्छा भाई ललित हाम्रो पर्खाइमा व्यग्रताका साथ थिए। तयारी अवस्थामा रहेको पिकअपमा चढेर गत कात्तिक २५ गते अनावरण गरिएको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमालाई दर्शन गर्दै लालीखर्कहुँदै रानीटारस्थित महागुरुको चेला नरदल फेजङको न्यानो आतिथ्यता स्वीकार्न पुगियो। स्वागत र बिदाई गर्न मेजमान ख्वाउनमा लागि पर्नुहुने रानीटारे पुजारी, वहाँकी धर्मपत्नी, जेठी छोरी सहयोगी प्रेमलगायत सबै सबै प्रति आभारी छु।
कुनै समय विशाल रानी पोखरी भएपनि हाल आएर सुन्दर रानीटार बनेर सानो तर रमणीय गाउँले शहर हेर्दै पिकअपमा महागुरुको कर्मभूमि लोब्रे प्रस्थान गर्यौं। सानो फक्ताङलुङमा चढ्न ७ फन्को मार्दै आध्यात्मिक आनान्दानुभूति लिंदै १९८८ सालमा महागुरुले बिराट चुम्लुङ गराउनु भएको स्थल र ८ जिल्ला माङहिम (किरात साङसेन वरक चोत्लुङ माङहिम) तथा वहाँकै प्रतिमाको दर्शन गरेर सिधै अगाडि देखि फक्ताङलुङ हेर्दै चिसो ठाउँमा माङहिमको प्रसाद स्वरुप तातो खाना खाइयो। सहयोगी भूमिका निर्वाह गर्नुहुने ललित फेजङ र माङहिम सचिव सुवास तुम्बापोलगायत सबै सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु।
हतार भएकोले छोटो बसाई पछि १७ थुम माङहिमलाई माथिबाटै हेरेर पुन: सोही गाडिमा सिलौटी गएर महागुरुको समाधिस्थलमा फूल चढाउन पाइयो। र, सिलौटीमा अवस्थित माङहिमलाई ध्वजे डाँडाबाटै दर्शन गरियो। सिलौटीबाट नेपाली कागजको बुट्यानहरु अनि कागज बनाउन सुकाइएका लहरै मिलाएर राखिएका फ्रेमहरु हेर्दै पौवा भञ्ज्याङ सम्मको यात्रा गरियो। कठीन बाटोमा पनि आरामदायी यात्रा गराउने रानीटार निवासी ती गुरुङ भाई साँच्चिकै सम्झनलायक भएका छन्।
त्यसपछि फेदेनबाट बिर्तामोड तर्फ झर्ने सुमोमा राँके, रक्से, पुवाखोला, बिब्ल्याँटे हुँदै इलाम सम्मको यात्रा भयो। पोखरा निवासी तर इलाममा कार्यरत एकजना बहिनीले आफ्नो पर्स छुटेको र इलाम बजारबाट गाडी लगिदिन या सो रकम फोनमा इसेवा मार्फत पठाइदिन्छु भन्दा कसैले वास्ता नगरिरहेको मेरो मनमा गढ्न पुग्यो। म गाडीले मातेको थिएँ। त्यो वार्तालाप अलि अलि सुन्थें तैपनि मैले उनको भाडा तिरिदिएँ तर उनले केही बेरमा नै मेरो फोनमा इसेवा मार्फत रिचार्ज गरिदिइन्। इलाममा सानाबा उपनामले चर्चित जेठा मामा र माइज्यू वेलायतबाट केही दिनको लागि आउनु भएकोले वहाँहरुको न्यानो आतिथ्यतालाई स्वीकार्दै इलाममा केही दिनको बसाई भयो। इलामको पर्यायवाची झैं भएको हरियै देखिने चियाबगानलाई अझ बिस्तृत हेर्न भ्यु टावरमा चिसो हावाको झोक्कालाई सहँदै ३० रुपैयाँको दृश्यावलोकन गरियो। इलामको बसाईलाई आत्मियतापूर्ण बनाउनुहुने जेठा मामा, माइज्यू, कान्छी माइज्यू, बहिनी पुष्पा, ज्वाईं राजेश, भतिज सन्तोषलगायत सबै सबै प्रति कृतज्ञ छु।
इलामबाट हिँड्नै पर्ने भएपछि सुमोमा माइखोलाको राजदुवाली पुल, आइतबारे, कर्फोक, फिक्कल, कन्याम, हर्कटे, बुधबारे, धाइजन, चारआली हुँदै बिर्तामोड पुगियो। बिर्तामोडमा भगिहाङ फेजङको पसलमा बसेर धित मरिञ्जेल भक्का खुवाई भयो। भगिहाङ भाईले दिउँसै सिट बुक गरिदिएको मुनाल बसमा साँझ वीरगञ्जको यात्रा भयो। भाई भगिहाङ र पसल सहयोगी बहिनी प्रति धन्यवाद दिन चाहान्छु।
राति कञ्चनपुरमा ज्यादै नमिठो खाना खाएर बिहानै वीरगञ्ज बसस्टैण्ड पुगियो। लजमा नुहाई धुहाई पछि अटो रिजर्भ गरेर गढीमाईको दर्शन गर्न महिनौं दिन पछि गइयो। दर्शन गर्दा त्यहाँको पुजारीले भेटीको कुरा गर्दा चाहिँ साह्रै नमज्जा लाग्यो। धार्मिक स्थलमा स्वार्थी पुजारी पहिलो पटक भेट्न पाइयो। तथापि, ठाउँ रमणीय, आनन्दित थियो। पाथीभरा र गढीमाईमा जाने महिनौंदेखिको चाहना पूरा भएपछि घर फर्किने हतारले सतायो र हतार हतार हेटौडाबाट भीमफेदी, भैंसे, देउराली, कुलेखानी, दक्षिणकाली, चोभार हुँदै बल्खु पुग्ने सुमोमा जाने सोचले सुमो खोज्ने क्रममा केही दु:ख भयो। गाडी छैन भन्ने अनि अन्तिम समयमा निकाल्ने र टिकट कमको दिएर बढी पैसा असुल्ने चलन नै रहेछ त्यहाँको। आफूलाई जसरी भएपनि घर पुग्नु थियो। त्यसैले त्यो झमेलालाई वास्तै नगरी बल्ल काठमाण्डौ आइपुगियो।
यो यात्रामा सहयोग गर्नुहुने प्रत्यक्ष एवं परोक्ष सबै प्रति आभार व्यक्त गर्न चाहान्छु। ओत माङे सेवारो।
Discussion about this post